महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न भरतपुर खानेपानी बोर्ड सक्रिय
भरतपुर खानेपानी व्यवस्थापन बोर्डले लामो समयदेखि महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालेको छ। बोर्डको निर्णयअनुसार बक्यौता असुलीलाई तीव्र बनाउन यस्तो कदम चालिएको हो।
कार्यालय प्रमुख सञ्जय बरालका अनुसार कुल ४४ हजार ५०० ग्राहकमध्ये ठूलो संख्याले महसुल नतिरेका छन्, जसबाट करिब रु तीन करोड ७० लाख बक्यौता उठाउन बाँकी रहेको छ। हालसम्म टोली गठन गरी नौ जना ग्राहकको धाराको लाइन काटिसकिएको छ।
विशेषगरी पाँच वर्षदेखि महसुल नतिर्ने ३०० ग्राहकबाट रु २० लाख तथा तीन महिनाभन्दा बढी बक्यौता राख्ने १३ हजारभन्दा बढी ग्राहकबाट रु तीन करोड ५० लाख असुल्न बाँकी रहेको बताइएको छ। बक्यौता उठाउन एसएमएस र पत्राचारमार्फत सूचना दिने कार्य पनि अघि बढाइएको छ, जसले असुली दर बढाउन सहयोग पुगेको छ।
बोर्डले भरतपुर महानगरपालिकाका वडा १ देखि १६ र २२ मा सेवा दिँदै आएको छ भने मासिक दुई करोड ७६ लाख लिटर पानी वितरण गर्दै आएको जनाएको छ। चोरी नियन्त्रण भए पनि निर्माण कार्यका कारण पानी चुहावट समस्या भने अझै कायम रहेको कार्यालयले जनाएको छ।
तपाईको प्रतिक्रिया