२०८२ साल बैशाख २
हाइस्पीड संवाददाता
सङ्खुवासभाको मत्स्यपोखरी प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
सङ्खुवासभाको चिचिला गाउँपालिका–४ मा अवस्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको मत्स्यपोखरीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै लगिएको छ। पछिल्लो समय पूर्वाधार विस्तार र संरक्षणका काम तीव्र पारिएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ।
जिल्ला सदरमुकाम खाँदबारीबाट करिब डेढ घण्टाको दूरीमा रहेको यस पोखरीमा असला माछा अवलोकन, प्राकृतिक सौन्दर्य र रमणीय वातावरणका कारण पर्यटक तथा तीर्थयात्री पुग्ने गरेका छन्। गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाका अनुसार पोखरी क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।
पर्यटन प्रवर्द्धनका लागि पोखरी परिसरमा घेराबार, पिकनिक स्थल, शौचालय, खानेपानी तथा सडक पहुँच निर्माण गरिएको छ भने असला माछाको स्तम्भ, शिवलिङ्ग, शेषनाग र गौतम बुद्धको प्रतिमा स्थापना गरी धार्मिक तथा सांस्कृतिक आकर्षणसमेत बढाइएको छ।
स्थानीय सरकारका अनुसार दिगो पर्यटन विकासलाई ध्यानमा राख्दै वातावरण संरक्षण, स्थानीय संस्कृति प्रवर्द्धन र मौलिक खानपानको प्रचारमा जोड दिइएको छ। यसबाट रोजगारी सिर्जना, आर्थिक गतिविधि वृद्धि र स्थानीय समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया