२०८२ साल जेठ १४
हाइस्पीड संवाददाता
जेनजी (Gen Z) आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, सुरक्षा निकायको भूमिका र त्यसपछिको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले राष्ट्रिय बहस सिर्जना गरेको छ। आन्दोलनका अगुवा रवि किरण हमालले प्रतिवेदनलाई स्वागत गर्दै तत्काल कार्यान्वयनको माग गरेका छन्।
आयोगको प्रतिवेदनले आन्दोलनका क्रममा भएको बल प्रयोग, सुरक्षा निकायको कमजोरी तथा केही स्थानमा देखिएको अराजकताबारे गम्भीर विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यलाई जिम्मेवार बन्न आग्रह गरेको छ। हमालले प्रतिवेदनलाई सकारात्मक कदम भन्दै यसलाई व्यवहारमा लागू गर्नुपर्ने बताएका छन्।
हमालले आफू वा आफ्नो नेतृत्वमा भएका गतिविधिमाथि कुनै पनि प्रकारको निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिँदै “म छानबिनका लागि पूर्ण रूपमा तयार छु” बताएका छन्। उनले आन्दोलनलाई हिंसात्मक बनाउने तथा अराजकता सिर्जना गर्ने तत्वहरूको पहिचान गरी कारबाही गर्न पनि माग गरेका छन्।
उनले आन्दोलनको मूल उद्देश्यलाई कमजोर बनाउन केही बाह्य वा स्वार्थ समूहहरूले ‘फ्युलिङ’ गरेको आरोप लगाउँदै त्यस्ता लुकेका पात्रहरूको स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताएका छन्। साथै, आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई न्याय र राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
हमालको आह्वानसँगै आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने वा थन्क्याउने भन्ने विषय सरकारको विश्वसनीयताको परीक्षा बनेको छ। निष्पक्ष छानबिन र दोषीमाथि कारबाही भएमा मात्र लोकतन्त्र बलियो हुने र जनविश्वास कायम रहने विश्लेषण गरिएको छ। प्रतिवेदनलाई आन्दोलनमा गुमेको विश्वास फर्काउने महत्वपूर्ण दस्ताबेजका रूपमा हेरिएको छ।
श्रोत : रबिकिरण हमाल
तपाईको प्रतिक्रिया