सोलुखुम्बु, असोज ३० गते,
सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–२ स्थित फेरा गाउँको प्रवेशद्वारमा नवनिर्मित महापवित्र ‘ल्हाबब छोर्तेन’ (देव अवतरण चैत्य) को विधिवत् रूपमा प्राण प्रतिष्ठा (राब्ने) पूजा सम्पन्न भएको छ । परम श्रद्धेय खेन् रिन्पोछे साङ्ये राङज्युङज्यूको बाहुलीबाट बौद्ध धर्म परम्परा अनुसार उक्त विशेष अनुष्ठान सम्पन्न गर्नुभएको हो ।
बिहान ८ बजेदेखि सुरु भएको प्राण प्रतिष्ठा कार्यक्रममा खेन् रिन्पोछे साङ्ये राङज्युङका साथै नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष श्रद्धेय सेङटाक टुल्कु रिन्पोछे, खेन्पो, लोपोन तथा लामा गुरुहरूको उपस्थितिमा बौद्ध धर्म परम्पराअनुसार पाठपूजा सम्पन्न गर्नुभएको थियो । चैत्यको प्राणप्रतिष्ठा पश्चात् प्रमुख अतिथि रिन्पोछेज्यूले बौद्ध धर्ममा चैत्यको धार्मिक तथा आध्यात्मिक महत्त्व, दर्शन एवम् परिक्रमा गर्दा प्राप्त हुने पुण्यका विषयमा विशेष प्रवचन दिनुभएको थियो ।
करिब १ करोड २९ लाख ५१ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त पवित्र चैत्य सोलुदुधकुण्ड नगरपालिका–२ बेनी निवासी, हाल संयुक्त राज्य अमेरिकामा बस्दै आउनुभएका ग्युर्मी शेर्पा र उहाँकी धर्मपत्नी आङ सानी शेर्पाको व्यक्तिगत लगानीमा निर्माण गरिएको हो । चैत्य निर्माणको क्रममा देश विदेशमा रहनुहुने नातेदार तथा श्रद्धलुभक्तजनहरूबाट करिव रु. ५१लाख ६४ हजार ९५१.०० नगद दान गर्नुभएको र चैत्यको गजुर अमेरिका निवासी ग्युर्मी शेर्पाकी बहिनी कान्छी शेर्पाको परिवारबाट, चैत्यको मध्यभागमा रहेको बुद्धको ठूलो प्रतिमा काकी छिरिङमा शेर्पाको परिवारबाट र चैत्यवरिपरिका ६० वटा हाते मणि दाकी शेर्पाको परिवारबाट र चढाइएको चैत्य निर्माता ग्युर्मी शेर्पाले बताउनुभयो । निर्माण कार्यमा सहयोग पुर्याउनुहुने आफन्तजन, सहयोगी दाता र गाउँलेहरूलाई धन्यवाद ज्ञापन गर्दै शेर्पाले आफ्नै जन्मभूमिमा यस्तो पवित्र चैत्य निर्माण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। साथै, देश-विदेशका दर्शनार्थीहरूले चैत्यको दर्शन, परिक्रमा र ढोग गरी पुण्य लाभ आर्जन गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्राण प्रतिष्ठा एवम् पूजापाठ सम्पन्न पश्चात् रिन्पोछेज्यूबाट धार्मिक प्रवचन दिनुभएको थियो । तत्पश्चायत् केम्जे युथ क्लब (फेरा) का सदस्यहरू तथा नमोबुद्ध आधारभूत विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरूले स्थानीय परम्परागत शेर्पा नृत्य श्याब्रु तथा विभिन्न नेपाली लोकनृत्यहरू प्रस्तुत गरी कार्यक्रमलाई भव्य बनाएका थिए। उक्त समारोहमा स्थानीय जनप्रतिनिधि, फेरा गाउँ तथा छिमेकी बस्तीका बासिन्दाका साथै देशविदेशबाट आएका ठूलो सङ्ख्याका श्रद्धालु एवम् पाहुनाहरूको उपस्थिति रहेको थियो । चोर्तेन डाँडामा निर्मित यस नयाँ चैत्यले हिमाली क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा स्थानीयवासीले गरेका छन् ।
तपाईको प्रतिक्रिया