२०८२ साल माघ २५
हाइस्पीड सम्वाददाता
आईसीसी टी–२० विश्वकप: नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित
आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो।
नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाए पनि दुवै ओपनर सस्तैमा आउट हुँदा टोली ४२–२ को अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए। तर १५औं ओभरमा दीपेन्द्र ४४ रनमा आउट भएपछि नेपाल दबाबमा पर्यो। कप्तान रोहितले ३९ रन बनाए भने आरिफ शेखले १० रन जोडे।
अन्तिम ओभरमा १० रन आवश्यक रहँदा लोकेश बम क्रिजमा भए पनि नेपाल लक्ष्य भेट्न सकेन। इंग्ल्यान्डका लागि लियम डसनले २ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले ५५ रन, कप्तान ह्यारी ब्रूकले ५३ रन तथा विल ज्याक्सले अविजित ३९ रन बनाए। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।
रोमाञ्चक प्रतिस्पर्धामा नेपाल अन्तिम क्षणसम्म लड्दा पनि इंग्ल्यान्डसँग साँघुरो अन्तरले पराजित भयो।
तपाईको प्रतिक्रिया