कस्तुरीको बिना सहित पूर्वसैनिकसहित दुई जना पक्राउ
कस्तुरीको बिना अवैध रूपमा बिक्री वितरण गर्न लागेको आरोपमा पूर्वसैनिकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ घर भई हाल तारकेश्वर नगरपालिका ११ शेषमती बस्ने ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भई शेषमतीमै बस्ने ३२ वर्षीय जितेन्द्रबहादुर चन्द रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका परियार नेपाली सेनाका अन्य दर्जाका (परिचर) पूर्वकर्मचारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूबाट करिब ३० ग्राम कस्तुरीको बिना बरामद गरेको छ।
प्रहरीका अनुसार चन्द दुई वटा मुद्दामा फरार रहेका व्यक्ति हुन्। उनीविरुद्ध २०७५ मंसिर १७ गते प्रहरी वृत्त बालाजुमा डाँका चोरी मुद्दा दर्ता भएको थियो भने २०८१ वैशाख १७ गते प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दा पनि दायर भएको थियो। दुवै मुद्दामा फरार रहेका चन्दलाई यसै क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
श्रोत: अनलाईन खबर
तपाईको प्रतिक्रिया