२०८२ साल फाल्गुन २५
हाइस्पीड सम्वाददाता
नारी दिवसको सन्देश

इतिहासले देखाएको छ कि नारीले आफ्नै कोखबाट जन्माएको सन्तानसँग पनि कहिलेकाहीँ आफ्ना अधिकार माग्नुपरेको अवस्था आएको छ। नारी जीवनका पीडा, दुःख र संघर्षका कथाहरू धेरै गहिरा र कठिन छन्। संघर्ष र दुःखले भरिएको नारीको इतिहास आज पनि बोलिरहेको छ।
सुन्दरताको साङ्लोमा बाँधिनेदेखि संघर्ष हुँदै सफलता सम्मको हाम्रो यात्रा त्यति सजिलो छैन। आधा बाटोमा आएका चुनौतीहरूलाई हल्का रूपमा लिएर अघि बढ्न पनि कहिलेकाहीँ धेरै साहस चाहिन्छ। दृढ इच्छाशक्ति , साहस र मेहनतले हामीले आफ्नै गन्तव्य आफैं निर्माण गर्न सक्छौ ।
आज मार्च ८, अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा हामीले सम्झनु पर्छ कि यो दिन सजिलै आएको होइन। यो दिन पाउनका लागि असंख्य नारीहरूले गरेका संघर्ष, बलिदान र प्रयासको परिणाम हो। त्यही संघर्षका कारण आज नारीहरू सडकदेखि सदनसम्म आफ्ना आवाज उठाउन सक्ने भएका छन्।
आज नारीहरू हरेक पेशा र हरेक क्षेत्रमा अगाडि बढिरहेका छन्—चाहे त्यो शिक्षा होस्, राजनीति नेतृत्व होस् वा सामाजिक क्षेत्र। समान शिक्षा र अवसर पाउँदा नारीहरूले आफूलाई सक्षम, सबल र आत्मनिर्भर बनाएका छन्। परिवारको जिम्मेवारी सम्हाल्दै समाज र देशलाई पनि अगाडि बढाउन सक्ने क्षमता नारीहरूमा रहेको कुरा हामीले प्रत्यक्ष देखिरहेका छौं।
तर यति धेरै उपलब्धिहरू हुँदाहुँदै पनि नारीमाथि हेर्ने कुदृष्टि, भेदभाव, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरू अझै समाजमा देखिन्छन्। समाजका कुरीति, गलत परम्परा र विभिन्न प्रकारका विभेदले नारीमाथि थपिएको बोझ अझै समाप्त भएको छैन।
अबको नेतृत्वले नयाँ कानुनी आधार र दृढ कदममार्फत यस्ता अन्याय र अत्याचारको अन्त्य गर्नुपर्छ। हरेक नारीले आफ्नो जीवन सुरक्षित र सम्मानका साथ, स्वतन्त्र रूपमा खुशी भएर बाँच्न पाउने पूर्ण अधिकार प्राप्त गरून्।
नारी केवल एक व्यक्ति मात्र होइनन्—नारी मानव जीवनको पहिलो घर हुन्, सृष्टिको आधार हुन्, प्रेम, माया र सृजनाको प्रतीक हुन्। नारी बिना संसारको अस्तित्व सम्भव छैन।
सबै दिदीबहिनीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना
लेखक – मनिसा बिमली ।
तपाईको प्रतिक्रिया