२०८२ साल बैशाख २
हाइस्पीड संवाददाता
धनकुटामा परम्परागत ठेकी निर्माण जिवन्त, आधुनिक प्रविधिका बीच पुरानो सीपको संरक्षण
आधुनिक प्रविधि र विद्युतीय मेसिनको प्रयोग बढ्दो अवस्थामा पनि धनकुटाका केही ग्रामीण क्षेत्रमा परम्परागत ठेकी निर्माणको अभ्यास अझै जिवन्त रहेको छ। विशेषगरी महालक्ष्मी नगरपालिका–४ मा पानी र चुदारो प्रयोग गरी ठेकी बनाउने पुरानो सीप जगेर्ना हुँदै आएको छ।
स्थानीय कालिगढ दीर्घबहादुर पौडेलले वर्षमा करिब एक सय ठेकी निर्माण गर्दै आएका छन्। उनले हिउँदका महिनामा मात्रै ठेकी बनाउने गरेका छन् भने बर्खाको समयमा खेतीपातीमा व्यस्त हुने बताएका छन्। उनले सानोदेखि ठूलो आकारका ठेकीसँगै तोङ्वा, खाने भाँडो र हर्पे पनि निर्माण गर्ने गरेका छन्।
परम्परागत विधिबाट बनाइएका ठेकी प्रति कुरुवा तीन सय रुपैयाँका दरले बिक्री हुने गरेको छ भने वार्षिक रूपमा करिब ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको पौडेलको भनाइ छ। बजारमा विद्युतीय मेसिनबाट बनेका ठेकीभन्दा परम्परागत ठेकी सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग उच्च रहेको छ।
ठेकी निर्माणमा खोलाबाट ल्याइएको पानीको बल र चुदारोको प्रयोग गरी काठलाई आकार दिइन्छ। दार र कटहरको काठ उपयुक्त मानिने र यसबाट बनाइएको ठेकीमा दही र मोही स्वादिलो हुने विश्वास रहेको छ। तर काठ र चुदारोको अभावले यस सीप लोप हुने चिन्ता बढेको छ।
वडाध्यक्ष शुक्रराज बुढाथोकीका अनुसार गाउँमा बिजुली पुगे पनि परम्परागत प्रविधिको प्रयोग जारी छ। पानी र चुदारोबाट चल्ने कुटानी–पीसानी मिलसमेत सञ्चालनमा छन्। उनका अनुसार यस्ता परम्परागत अभ्यास वातावरणमैत्री, सस्तो र दिगो हुनुका साथै स्थानीय सीप, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण छन्।
नगरपालिकाले परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवर्द्धन गर्ने नीति अघि बढाएको छ। यसले स्थानीय रोजगारी सिर्जना र सांस्कृतिक सम्पदाको जगेर्नामा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया