२०८२ साल बैशाख १३
हाइस्पीड संवाददाता
नागढुंगा सुरुङमार्ग: परीक्षणदेखि व्यावसायिक सञ्चालनतर्फ तयारी
काठमाडौं–नौबिसे सडकखण्डको चिरपरिचित ट्राफिक जाम अन्त्य गर्ने लक्ष्यसहित निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ। सडक विभाग अन्तर्गतको आयोजनाले वैशाख अन्तिम वा जेठ पहिलो सातादेखि सीमित सवारीका लागि परीक्षण सञ्चालन गर्ने तयारी गरेको छ। परीक्षण अवधिमा उपकरणहरूको कार्यक्षमता जाँच, कर्मचारी तालिम तथा आपतकालीन सेवा (फायर फाइटर, एम्बुलेन्स) तयारी गरिनेछ।
आयोजना प्रमुख सौजन्य नेपालका अनुसार परीक्षण सफल भएमा आगामी आर्थिक वर्षको सुरुवात (साउन) देखि सुरुङमार्गलाई पूर्ण रूपमा व्यावसायिक रूपमा सञ्चालनमा ल्याइनेछ। हाल धादिङतर्फको प्रवेशद्वारमा पहिरो नियन्त्रणको काम जारी रहेको र मनसुन अघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सुरुङमार्ग प्रयोगका लागि सरकारले सवारीसाधन अनुसार दस्तुर समेत निर्धारण गरिसकेको छ। कार, भ्यान, पिकअप लगायत हलुका सवारीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ भने ठूला सवारीका लागि शुल्क ११५ रुपैयाँदेखि ६०० रुपैयाँसम्म तोकिएको छ। मोटरसाइकल र अतिप्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने प्रवेश अनुमति दिइने छैन।
२,६८८ मिटर लामो मुख्य सुरुङ र २,५५७ मिटरको रेस्क्यु टनेलसहित निर्माण भइरहेको यस आयोजनामा फ्लाइओभर, पुल तथा अन्डरपास गरी १२ वटा सहायक संरचना पनि समावेश छन्। सुरुङ सञ्चालनमा आएपछि हाल घण्टौं लाग्ने यात्रा समय घटेर करिब २० मिनेटमा सीमित हुने अपेक्षा गरिएको छ।
करिब २२ अर्ब रुपैयाँ लागतको यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको हो। सन् २००१ मा सुरु भएको अवधारणा र विभिन्न चरण पार गर्दै २०१९ देखि निर्माण सुरु भएको यो परियोजना २४ वर्षपछि वास्तविकतामा रूपान्तरण हुन लागेको हो। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवारी चाप व्यवस्थापनमा महत्वपूर्ण सुधार आउने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया