२०८२ साल जेठ १४
हाइस्पीड संवाददाता
भारतमा नवयुवाहरूको असन्तोषबाट जन्मिएको ‘कक्रोच जनता पार्टी’ अहिले भारतीय राजनीतिमा ठूलो बहसको विषय बनेको छ। भारतीय सुप्रिम कोर्टका प्रधानन्यायाधीशले युवाहरूलाई ‘अल्छी र बेरोजगार’ भन्दै टिप्पणी गरेपछि त्यसको विरोधस्वरूप युवाहरूले आफूलाई ‘कक्रोच’ को प्रतीकमार्फत प्रस्तुत गर्दै प्रणालीगत बेथितिविरुद्ध आन्दोलन थालेका हुन्।
यो आन्दोलनले भारतीय जनता पार्टी (भाजपा), नवउदारवादी आर्थिक नीति, क्रोनी पूँजीवाद र हिन्दु अतिवादमा आधारित शासनप्रणालीविरुद्ध आक्रोश व्यक्त गरेको विश्लेषण गरिएको छ। राहुल गान्धी, ममता बनर्जी, केजरीवाल लगायत विपक्षी नेताहरूले गर्न नसकेको चुनौती अहिले युवाहरूले भुइँतहबाट खडा गरेको उल्लेख गरिएको छ। आन्दोलनले समाजवाद, धर्मनिरपेक्षता, भ्रष्टाचार अन्त्य र रोजगारीलाई मुख्य एजेन्डा बनाए पनि यसको दीर्घकालीन रणनीति अझै स्पष्ट नभएको टिप्पणी गरिएको छ।
लेखमा भारतीय युवाहरूले नेपालको जेनजी आन्दोलनलाई प्रेरणाको रूपमा लिएको उल्लेख गर्दै नेपालमा भने त्यो आन्दोलन ‘हाइज्याक’ भएको दाबी गरिएको छ। त्यसै सन्दर्भमा नेपालको वर्तमान शाह सरकारमाथि पनि तीव्र आलोचना गरिएको छ।
प्रधानमन्त्री संसद्मा नजाने, राष्ट्रपतिलाई नभेट्ने, सार्वजनिक रूपमा संवाद नगर्ने तथा सरकार अपारदर्शी समूहबाट सञ्चालन भइरहेको आरोप लेखमा गरिएको छ। रास्वपा र त्यसका नेताहरूलाई निष्क्रिय बनाइएको तथा सरकारी संयन्त्रलाई धम्की र भयमार्फत चलाउन खोजिएको दाबी पनि गरिएको छ।
लेखमा नदी किनारका बस्ती हटाउने नाममा गरिएको डोजर कारबाही, निर्माण व्यवसायी र बैङ्करहरूमाथि गरिएको दबाब, बढ्दो महँगी, वैदेशिक सम्बन्धमा आएको कमजोरी तथा लोकतान्त्रिक ‘स्पेस’ खुम्च्याउने प्रयासमाथि समेत प्रश्न उठाइएको छ।
समग्रमा, वर्तमान सरकारको कार्यशैलीले संस्थागत संकट, भय, असन्तोष र राजनीतिक अस्थिरता बढाउन सक्ने चेतावनी दिँदै लेखको अन्त्यमा सरकारले सय दिन पूरा गरेपछि थप मूल्याङ्कन गर्नुपर्ने टिप्पणी गरिएको छ।
तपाईको प्रतिक्रिया