काठमाडौँ — प्रसिद्ध राइड सेयरिङ प्लेटफर्म inDrive Nepal ले काठमाडौँको गैरीधारास्थित Silver Oak Banquet मा एक भव्य कार्यक्रमको आयोजना गर्दै महिला चालकहरूलाई प्रोत्साहन तथा सम्मान गरेको छ। “Driving नारी” शीर्षकमा सञ्चालित यस विशेष अभियानमा ब्रान्ड एम्बेसेडर तथा चर्चित नायिका स्वस्तिमा खड्काको प्रमुख आतिथ्य रहेको थियो। यातायात क्षेत्रमा महिलाहरूको सहभागिता बढाउने र उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै inDrive कि ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काले आजको समयमा महिलाहरू आत्मनिर्भर हुनु अत्यन्तै आवश्यक रहेको कुरामा जोड दिइन्। महिलाहरूले आफ्नो खुट्टामा उभिएर आर्थिक रूपमा सबल बन्दा समाजमा उनीहरूको आत्मविश्वास र सम्मान दुवै बढ्ने धारणा उनले व्यक्त गरिन्। पुरुषप्रधान मानिने यातायात तथा ड्राइभिङ क्षेत्रमा महिलाहरूले देखाएको आँट र परिश्रमको प्रशंसा गर्दै उनले inDrive को यस पहलले धेरै महिलाहरूलाई आत्मबल र रोजगारीको बाटो खोलेको बताइन्।
समारोहमा inDrive एपमार्फत नियमित र उत्कृष्ट सेवा प्रदान गर्दै आएका महिला राइडरहरूलाई सम्मानस्वरूप विभिन्न पुरस्कारहरू वितरण गरिएको थियो। मुख्य पुरस्कारका रूपमा एक उत्कृष्ट महिला चालकलाई ब्रान्ड न्यु इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरियो भने अन्य प्रभावशाली महिला चालकहरूलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरियो। यस्ता प्रोत्साहनले महिलाहरूलाई सवारी चालकका रूपमा थप व्यावसायिक बन्न र ढुक्कसँग काम गर्न ठूलो मद्दत पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रमका दौरान सडक तथा यातायात क्षेत्रलाई महिलाहरूका लागि अझ सुरक्षित, भरपर्दो र समावेशी बनाउने विषयमा विशेष छलफल भएको थियो। उपस्थित महिला चालकहरूले ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काको उपस्थिति र प्रेरणादायी भनाइले आफूहरूलाई अझ अगाडि बढ्ने हौसला मिलेको प्रतिक्रिया दिए। inDrive ले पनि आगामी दिनहरूमा महिला चालकहरूका लागि क्षमता अभिवृद्धि तालिम, सुरक्षा सचेतना र यस्तै प्रोत्साहनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया