राजकुमार यादव
बंगालको खाडीमा विकसित चक्रवाती तूफान ‘अर्नब’ थप शक्तिशाली बन्दै गएको छ। भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उक्त तूफान अक्टोबर २८ को बिहान आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा प्रवेश गर्न सक्ने सम्भावना छ।
तूफान तटमा पुग्ने समयमा हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यस्तै, हावाको तीव्र झोक्काको गति प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्न सक्ने मौसम विभागले जनाएको छ।
आईएमडीका अनुसार अक्टोबर २६ को रातिसम्म यो प्रणाली गम्भीर चक्रवाती तूफानमा परिणत हुन सक्नेछ भने अक्टोबर २७ मा अति गम्भीर चक्रवाती तूफानको रूप लिन सक्ने अनुमान छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशको प्रशासनलाई सतर्क रहन निर्देशन दिइएको छ।
तूफानको सम्भावित प्रभावलाई मध्यनजर गर्दै आन्ध्र प्रदेशसँगै दक्षिण ओडिशाका तटीय क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ। भारतीय मौसम विज्ञान विभागले यी क्षेत्रका लागि रेड अलर्ट जारी गरेको विवरण छ।
यसैबीच, तमिलनाडुमा लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। कोडाइकनाल क्षेत्रमा भारी वर्षापछि ५० भन्दा बढी परिवारका घरमा पानी पसेको खबर छ।
सम्भावित चक्रवाती तूफान र भारी वर्षाका कारण तटीय क्षेत्रमा बाढी, तीव्र हावाहुरी तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन र प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया