२०८२ साल बैशाख २१
हाइस्पीड संवाददाता
Department of Hydrology and Meteorology Nepal ले हाल देशभर सक्रिय मौसम प्रणालीका कारण हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ। पश्चिमबाट सुरु भएको वर्षा प्रणाली पूर्वतर्फ सर्दै अहिले बागमती र मधेश प्रदेशसम्म फैलिएको छ।
मौसमविद्का अनुसार हुरीबतासको गति करिब ४० किमी प्रतिघण्टासम्म पुग्न सक्नेछ भने केही स्थानमा यसको प्रभाव दुई घण्टासम्म रहन सक्छ। आज विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। सुदूरपश्चिममा पूर्ण बदली छ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।
दिउँसो देशभर बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ। राति पनि पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने अनुमान गरिएको छ।
मंगलबार र बुधबार पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना कायम रहनेछ।
विभागले सम्भावित हुरीबतास, चट्याङ र भारी वर्षाबाट हुने क्षति न्यूनीकरणका लागि सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया