२०८२ साल फाल्गुन १३
हाइस्पीड सम्वाददाता
Students For Liberty – Nepal को आयोजनामा “नेपालको आगामी दशक” विषयक प्यानल छलफल कार्यक्रम बिहीबार जेभियर इन्टरनेशनल कलेज, कालोपुलमा सम्पन्न भएको छ। कार्यक्रममा नीति सुधार, आर्थिक रूपान्तरण, डिजिटल अवसर र स्वतन्त्रता–मैत्री शासन मोडेलबारे गहन बहस भएको थियो।
कार्यक्रमको सुरुवात स्वागत मन्तव्यसँगै भएको थियो भने नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो। मुख्य छलफल सत्रको सहजीकरण युवा अभियन्ता नवीन गिरीले गरेका थिए।
IME Khalti का सहसंस्थापक अमित अग्रवालले नेपालमा करिब २ खर्ब रुपैयाँ बराबरको IT निर्यात सम्भावना रहेको उल्लेख गर्दै युवालाई ‘landlocked’ मानसिकता त्यागेर डिजिटल युगका अवसर उपयोग गर्न आग्रह गरे। उनले डिजिटल प्लेटफर्मविरुद्ध हुने ‘weaponized regulation’ ले स्टार्टअप र AI पारिस्थितिकी तन्त्रमा नकारात्मक असर पारिरहेको चेतावनी दिए।

महान्यायाधिवक्ता सबिता भण्डारीले जेन–जी आन्दोलनको मुख्य माग सुशासन भएको उल्लेख गर्दै राज्य अभिव्यक्तिको नियन्त्रक नभई स्वतन्त्रताको संरक्षक हुनुपर्ने धारणा राखिन्। आफूमाथि लागेका आरोपबारे उनले विषय अदालतमा विचाराधीन रहेकाले विस्तृत प्रतिक्रिया दिन उपयुक्त नभएको स्पष्ट पार्दै आवश्यक परे कानुनी चुनौती दिन सकिने बताइन्।
अर्थविश्लेषक मुहरि पराजुलीले राजनीतिक परिवर्तन भए पनि आर्थिक क्रान्ति हुन नसकेको टिप्पणी गर्दै खुला बजार अर्थतन्त्र र व्यापार स्वतन्त्रतामा जोड दिए। उनले आगामी दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ बनाउन आयात शुल्क घटाउने र उत्पादकत्व बढाउने नीति आवश्यक रहेको सुझाव दिए।
डा. अर्जुन सिंह साउदले डिजिटल सीप र प्राविधिक दक्षतामा लगानी नगरी नेपाल अघि बढ्न नसक्ने उल्लेख गर्दै शिक्षा र उद्योगबीच तालमेल आवश्यक रहेको बताए। उनले AI लाई शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीयकरण गर्नुपर्नेमा जोड दिए।

छलफलका क्रममा सहभागीहरूले AI को प्रभाव, बौद्धिक सम्पत्ति, तथा महान्यायाधिवक्तामाथि लागेका आरोप सम्बन्धी प्रश्न उठाएका थिए। वक्ताहरूले पारदर्शिता, कानुनी प्रक्रिया र संस्थागत सुधारमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने निष्कर्ष निकाले।
कार्यक्रमको समापन Students for Liberty – Nepal/Bhutan की Regional Coordinator प्रसिद्धिका ढुंगानाले धन्यवाद मन्तव्यसहित गरिन्। कार्यक्रमले डिजिटल नवप्रवर्तन, कानुनी निश्चितता, व्यापार स्वतन्त्रता र मानव पुँजी विकासलाई नेपालको विकासको आधारस्तम्भका रूपमा अघि सार्ने सन्देश दिएको आयोजकले जनाएको छ।
तपाईको प्रतिक्रिया